हेटौंडाः सामाजिक सञ्जालमा कोरोना भाइरसबारे अफवाह फैलाएको आरोपमा मकवानपुर प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका–१ का रविन न्यौपानेलाई पक्राउ गरेको हो । रविनले कोरोना भाइरसको विषयमा अफवाह फैलाउनुको साथै व्यक्तिको विषयमा गोपनीयता भंग हुनेगरी सामाजिक सञ्जालमा अनावश्यक पोष्ट गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले पक्राउ गर्न खोज्दा न्यौपानेले प्रहरीमाथि नै दुव्र्यवहार समेत गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो । यसअघि कोरोना संक्रमितकै विषयमा गलत भिडियो बनाएर यु–ट्युबमा पोष्ट गरेको अभियोगमा मकवानपुर प्रहरीले गत जेठ ११ गते हेटौंडा मै एक युवकलाई पक्राउ गरेको थियो । बारा जिल्ला निजगढ नगरपालिका—१२ रतनपुर घर भई हाल हेटौंडा बसेर अध्ययन गरिरहेका नितेशराज रिजाल प्रहरी हिरासतमै छन् ।