— आचार्य ॐ कारेश्वरानन्द अवधूत

परिचयः नेपालमा मनसुन आइसकेको छ । आयुर्वेद चिकित्सा विज्ञान अनुसार वर्षाको ऋतुमा श्रावण र भाद्रका महिनाहरु पर्दछन् । यसबेला सूर्य भगवान् विसर्गकाल वा दक्षिणायनमा हुनुन्छ । अर्थात सूर्यको घाम कम हुन्छ र चन्द्रमाको शीतलतामा बढ्छ । त्यसैले वातावरण तथा प्राणीमात्र,औषधी,खाद्यपदार्थ,वनस्पति सबैमा चिसो वा गीलोपन आउँछ । यसपूर्वको ग्रीष्म ऋतुमा पाचन शक्ति कमजोर भएको हुन्छ । अहिले पानी परेर त्यो झन् दुर्वल हुन पुग्छ । शरीरमा वातदोषको प्रकोप र पित्त दोषको संचय हुन्छ यसैले वायुकम गर्ने र पित्त (गर्मी) लाई बढाउँने आहार विहारको प्रयोग गर्नुपर्दछ ।
रोगहरुः यस मौसममा ज्वरो,मलेरिया,रुघाखोकी,झाडापखाला,आन्द्रा सुनिने,गठिया,जोर्नी दुखाई,घाउ— खटिरा,दाद चिलाउने,उच्च रक्तचाप इत्यादि रोगहरुको संक्रमण हुन्छ । अहिलेकै कोरोना श्वासप्रश्वास संस्थानलाई समात्ने हुनाले हाम्रो फोक्सोलाई बलियो बनाउँने खालको व्यवस्था मिलाउँनु पर्दछ ।

पथ्य (योग्य) आहार—विहारः वायुलाई शान्त गर्ने र पित्तलाई जम्मा हुन नदिने खालको नुनिलो,गुलियो र अमिलो स्वादका पदार्थहरु भोजनमा राख्नुपर्दछ । पच्नमा सजिलो,हलुका, ताजा र पाचक अन्नलाई बढाउँने पदार्थहरु बढी व्यवहार गर्ने । गहुँ,जाँ“,साठी चामल,मकै,अरहर दाल, लौका, भिण्डी, घिरौला, गोलभेँडा, पुदिना, ल्वाङ, अदुवा, मरीच, ज्वानो, बिरेनुन, स्याउ, केरा, आँप, जामुन र झोलिलो तरकारीको सेवन गनुपर्दछ । रसायनको रुपमा हर्रोको साथमा सिधेनुन खाने,तुलसी,फिटकरी पानीमा उमालेर पिउने । लामखुट्टेबाट बच्नको लागी सुत्नेबेला झुलको प्रयोग र घर वरिपरी जमावट भएको फोहोर पानीमा किटनाशक वा मट्टीतेल छर्नुपर्छ ।

अपथ्य (अयोग्य) आहार विहारः वायु बढाउने खालको चना,कालो मासको दाल, मुुसुरो, मटर, आलु, कटहर र सातु नखाने भोक कस्सेर लागेपछि मात्र खाने । रातको भोजन सक्दो छिट्टो ८ बजे सम्म गर्नुपर्दछ । तीतो, टर्रो र पिरो रसका खाद्य नखाने आकाशमा बादल भएको समयमा पित्तको प्रकोप हुन्छ । त्यसैले अमिलो, तारेको कुरा, बेसन, खुर्सानी, बढी मसला, बासी र पित्त बढाउँने पदार्थहरु नखाने । दिनमा सुत्नु, अति मैथुन(सहवास), खाली खुट्टामा हिँड्नु, धेरै व्यायाम, भारी भोजन, भोक नहुँदा पनि खानु, रात्री दही/मही खानु हुदैँन । भिजेको लुगा लगाउने, ओसिलो ओछ्यानमा सुत्ने, पेट सफा गर्ने (जुलाफ) औषधी खाने र शङप्रक्षालन क्रिया गर्ने यस ऋतुमा वर्जित छ ।

प्राकृतिकः बढेको वायुदोषलाई कम गर्नको लागी तेल मालिस,धाष्पस्नान(शरीरबाट पसिना निकाल्ने), पसिना ल्याउने, गरम पानीमा खुट्टामा राख्ने, कटि(कम्मर) स्नान लिने इत्यादि प्राकृतिक उपचारको सल्लाह दिइन्छ । पेट सफा गर्नको लागी विरेचन ‘हर्रो’ को व्यवहार रात्री सुत्नेबेला गर्न सकिन्छ । सुत्नेबेला नाक, कान,नाभि र पैँतालामा तेल दल्नुपर्छ । उपवास वा एकछाक टार्नु राम्रो छ । योग चिकित्साः पाचन र श्वसन तन्त्रको साथमै रोगप्रतिरोध तन्त्र (इम्युन सिस्टम) लाई बलियो बनाउने खालका मजिपुर र अनाहत चक्रहरुलाई असर पार्ने योगासन पवनमुक्तासन,सर्वाङगासन, भुजङगासन, धनुरासन, उष्ट्रासन, शलमासन, उत्क्षेपमुद्र, उडडयन र अग्निसार मुद्रा, वायवी प्राणायाम, अपान वायुमुद्रा, आग्नेयी प्राणायाम इत्यादि गर्न सकिन्छ ।

उपवास चिकित्साः धार्मिक आस्था भएकाहरुले श्रावण महिनाभरी ब्रत गर्दछन् तर स्वास्थ्य विज्ञानले पनि शरीरका रोग जीवाणुलाई मार्ने, रोगप्रतिरोध क्षमता बढाउने र संकल्पशक्ति, मनहढ बनाउनको लागी निर्जला, सजला, फल । तरकारी रसको व्यवहार गरेर रोग अनुसार वैज्ञानिक उपवास विशेषज्ञको निगरानीमा गर्नु राम्रो । यसपछि आउने शरद ऋतुको लागी हामीलाई तयारी गर्नुपर्दछ । ‘शारदी माता वैद्यस्य’ अनुसार शरद ऋतुमा डाक्टरहरुको व्यवसाय फस्टाउँछ । (भन्नाले रोगीको संख्या बढ्छ ।)