हेटौंडाः ड्यूटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभन देखाउने सवारी चालक पक्राउ परेका छन् । बुधबार भीमफेदी गाउँपालिका–१, भैसेस्थित प्रहरी चेकपोस्टमा सवारी जाँच गर्ने क्रममा प्रहरीले रौतहट चन्द्रनिगाहपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा १६ च ८९७१ नम्बरको मारूती भ्यानका चालक राम गणेश साहलाई पक्राउ गरेको हो ।

मापदण्ड विपरित बढी संख्यामा मानिसहरू राखेर सवारी चलाएको र सम्झाउँदा डियुटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभन देखाई दुर्वेहार गरेकाले प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । उनमाथि सार्वजनिक हित र नैतिकता विरूद्धको कसुरमा मुद्दा दायर गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले बताउनुभयो ।