: +०५७-५२६८३०, ९८५५०-६८२२७

समाज


कार्यविधि विपरित अपाङ्गता प्रतिशत निर्धारण

समाज 161 पटक पढिएको समाज संवाददाता




हेटौंडा, ११ बैशाखः कार्यविधि विपरित सशस्त्र द्वन्द्वका क्रममा घाइते भएकाहरुको अपाङ्गता प्रतिशत निर्धारण गर्ने प्राविधिक उपसमितिको सिफारिसलाई जिल्लास्तरीय अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन सिफारिस समिति मकवानपुरले केन्द्रीय समितिमा सिफारिस गरेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) चक्रबहादुर बुढा संयोजक रहेको सिफारिस समितिले कार्यविधि विपरितको सिफारिसलाई नै सदर गरेर केन्द्रीय समितिमा सिफारिस गरेको हो ।

यसअघि प्रजिअ बुढाले कार्यविधिको विषयमा कानुन व्यवसायीसँग परामर्श गर्ने बताए पनि उहाँले कानुन व्यवसायीसँग परामर्श नै नगरी प्राविधिक उपसमितिको प्रतिवेदनलाई केन्द्रीय समितिमा सिफारिस गर्ने निर्णय गरेको हो । जिल्लास्तरीय अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन सिफारिस समितिले गठन गरेको प्राविधिक उपसमितिले कार्यविधि विपरित अपाङ्गता प्रतिशत निर्धारण गरेको छ । सुविधाको लोभमा निर्देशिका विपरित अपाङ्गतास्तर निर्धारण भएको देखिन्छ । ५१ प्रतिशतभन्दा बढी अपाङ्गता भए जीवन निर्वाह भत्ता भनेर सरकारले मासिक ६ हजार २ सय रुपैयाँ उपलब्ध गराउँछ । सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि–२०७४ विपरित हुने गरी तेजप्रसाद चौलागाई र शमसेर थिङको अपाङ्गतास्तर निर्धारण गरिएको पाइएको हो । चौलागाई र थिङ दुबैको अपाङ्गतास्तर ५० प्रतिशतभन्दा कम छन् । तर, प्राविधिक समितिले कार्यविधिले गरेको व्याख्या विपरित अपाङ्गता स्तर निर्धारण गरेको छ ।

कार्यविधिले ४ तहमा अपाङ्गताको स्तर निर्धारण गरेको छ । सामान्य अपाङ्गताको अवस्था, आफ्नो दैनिक जीवनयापन गर्न सक्ने, आफ्नो दैनिकीको लागि सहयोगी उपकरण प्रयोग गर्नुपर्ने र सहयोगी चाहिने गरी ४ प्रकारको अपाङ्गताको अवस्थाका आधारमा प्रतिशत निर्धारण गरिएको छ । दैनिकीको लागि सहयोगी उपकरण चाहिने अवस्थालाई कार्यविधिले ५१ प्रतिशतदेखि ७६ प्रतिशतसम्मको अपाङ्गताको अवस्था भनी निर्धारण गरिएको छ । सहयोगी चाहिने अवस्थालाई कार्यविधिले ७७ देखि शत्प्रतिशत अपाङ्गताको स्तर निर्धारण गरेको छ ।

तेजप्रसाद चौलागाई र शमसेर थिङको हकमा उनीहरु दुबैजना आफ्नो दैनिक जीवनयापन गर्न सक्ने अवस्थाका छन् । प्राविधिक समितिले भने उनीहरुको शारीरिक अवस्थालाई फरक–फरक अवस्थामा देखिने अपाङ्गता या घाउचोटलाई फरक फरक प्रतिशतमा मूल्यांकन गरी कुल प्रतिशत निकाल्दा ५१ प्रतिशतभन्दा बढी प्रतिशत रहेको भनी प्रतिवेदन तयार पारेको छ । हेटौंडा अस्पतालका मेडिकल अधिकृत डा. सुवास थापा संयोजकत्वको तीन सदस्यीय समितिले सशस्त्र द्वन्द्वका क्रममा घाइते भएकाहरुको स्वास्थ्य परीक्षण पनि आवश्यक्ताअनुसार गरेको छैन । 

हेटौंडा अस्पतालका मेडिकल अधिकृत डा. सुवास थापाको संयोजकत्वमा गठन गरिएको प्राविधिक समितिमा महिला तथा बालबालिका कार्यालय मकवानपुरकी प्रमुख विष्णुकुमारी लामिछाने र स्थानीय शान्ति समितिकी माहाकाली चौलागाई सदस्य छन् । सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि–२०७४ को अनुसूचिमा १२ नम्बर बुँदादेखि १८ नम्बर बुँदासम्ममा ५१ प्रतिशतदेखि ७६ प्रतिशत अपाङ्गता भएको निर्धारण गर्ने आधार उल्लेख गरेको छ । अनुसूचिअनुसार दुबै कानको सुन्ने शक्ति पूर्ण र स्थायी क्षति भए ७० प्रतिशत, एउटा हात/पाखुरासम्मको पूर्ण क्षति वा एउटा हातको स्थायी पक्षघात भए, एउटा खुट्टाको हिपजोर्नी, तीघ्रादेखि गुमेको वा पक्षघात भए, एउटा आँखाको दृष्टि पूर्ण क्षति भई आँखा वा अनुहार बिग्रिएको तर अर्को आँखाको दृष्टि सामान्य भएको वा एउटा आँखाको दृष्टि सामान्य रहेको तर अर्को आँखाको दृष्टि पूर्ण क्षति भई आँखा वा अनुहारको सुन्दरता नबिग्रिएको भए ६० प्रतिशत अपाङ्गता भएको निर्धारण गर्न सकिने छ । यस्तै हातको कुइनासम्म वा कुइना भन्दा मुनीको भागको क्षति भएको वा घुँडाभन्दा मुनीको भाग गुमेको भए ५५ प्रतिशत अपाङ्गता भएको निर्धारण गर्न सकिने व्यवस्था अनुसूचिमा छ ।

प्राविधिक समितिका संयोजक डा. सुवास थापाले अपाङ्गता मूल्यांकन गर्ने प्रक्रिया सामान्य रुपमा भएको बताउनुभएको छ । एक दिनमा २६ जनाको अपाङ्गता परीक्षण गरिएको उल्लेख गर्दै डा. थापाले भन्नुभयो, ‘स्वास्थ्य परीक्षण गरिएका प्रमाणहरु समेत नहेरी अपाङ्गता भएको दावी गर्नेसँग कुराकानीका आधारमा हतारहतार सिफारिस गरिएको हो ।’ कार्यविधिमा भने आवश्यक्ताअनुसार विशेषज्ञ चिकित्सकमार्फत आवश्यक उपकरण प्रयोग गरी अपाङ्गताको अवस्था निर्धारण गर्न सकिने व्यवस्था गरेको छ । शान्ति तथा पुनर्निर्माण मन्त्रालयअन्तर्गत राहत तथा पुनस्र्थापना इकाईले देशभर द्वन्द्वकालमा अपाङ्गता भएका भनिएकाहरुको ५/५ वर्षमा स्वास्थ्य परीक्षण गरी अपाङ्गताको प्रतिशत निर्धारण गर्ने व्यवस्था छ ।

सशस्त्र द्वन्द्वकाल (२०५२ फागुन १ गतेदेखि २०६३ साल मंसिर ५ गतेसम्म) मा भएका हिंसात्मक द्वन्द्वका क्रममा घाइते तथा अपाङ्गता भएकाहरुलाई आवश्यक्ताअनुसार राहत दिलाउन सरकारले कार्यविधि नै बनाएर जीवन निर्वाह भत्ता तथा उपचारका लागि सहयोग गर्दै आएको छ । मकवानपुर जिल्लामा द्वन्द्वकालमा १ सय ७ जना घाइते भएको विवरण स्थानीय प्रशासनसँग छ ।





कमेन्टसहरु



अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     241
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1062
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     107
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     63
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1350247 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top